५ वटा विश्वकप खेल्ने पहिलो फुटबलर एन्टोनियो कार्बाहलको निधन

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख २८, २०८० 0९:१९
५ वटा विश्वकप खेल्ने पहिलो फुटबलर एन्टोनियो कार्बाहलको निधन

काठमाडौं ।  मेक्सिकन फुटबलर एन्टोनियो कार्बाहलको निधन भएको छ ।

कार्बाहल ५ वटा विश्वकप खेल्ने पहिलो फुटबलर हुन् । विश्व फुटबल वृत्तमा ‘ला टोटा’ उपनामले चर्चित कार्बाहलकाे ९३ वर्षको उमेरमा निधन भएको हो । उनी चर्चित गोलरक्षक हुन् । उनले सन् १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा पहिलो पटक सहभागिता जनाएका थिए ।

त्यसपछि उनले सन् १९५४ मा स्विट्जरल्यान्डमा भएको विश्वकपमा पनि मेक्सिकन टोलीको गोल पोष्ट सम्हालेका थिए ।यसैगरी उनले सन् १९५८ मा स्विडेन, सन् १९६२ मा चिली र सन् १९६६ मा इङ्ल्यान्डमा भएको विश्वकप फुटबल पनि खेलेका थिए ।

कार्बाहलले सन् १९५० देखि सन् १९६६ सम्म मेक्सिकोको राष्ट्रिय टोलीबाट ४८ खेल खेलेका थिए । उनले राष्ट्रिय टोलीबाट विश्वकपमा कुल ११ खेल खेलेका थिए । यसका अतिरिक्त कार्बाहलले विभिन्न क्लबबाट ४ सय ९ वटा व्यावसायिक फुटबल पनि खेलेका थिए । उनले व्यावसायिक फुटबलमा आफ्नो अधिकांश समय मेक्सिकन क्लब लियोनमा बिताएका थिए ।

मेक्सिकन क्लब लियोनबाट उनले ३ सय ६४ खेल खेलेका थिए । उनले उक्त क्लबमा आफ्नो खेल जीवनको १६ वर्ष बिताएका थिए । सोही क्लबको रंगशालामा बिहीबार कार्बाहलप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिने छ ।

विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफान्टिनोले  कार्बाहलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कार्बाहलप्रति श्रद्धाञ्जली अर्पण गर्दै  ५ वटा विश्वकप खेल्ने पहिलो खेलाडी एन्टोनियो कार्बाहलको निधनबाट सिङ्गो विश्व फुटबल स्तब्ध: बनेको छ उनले बताएका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख २८, २०८० 0९:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट