आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १३, २०७९ १५:१२
आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले

गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आउनुभएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गर्नुभएको रु ५० हजार फिर्ता पाउन नसकेको छ महिना पूरा भयो । रानाले चार वर्षअघिदेखि यो सहकारीमा बचत गर्न थाल्नुभएको थियो । जम्मा गरेको बचतले पसलमा सामान थप्ने सोचले बचत गर्नुभएकी रानालाई अहिले त्यही पैसा पाए पनि व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने थियो । तर आफैँले बचत गरेको थोरै रकम पनि उहाँले समयमा पाउन सक्नुभएको छैन । आरक्ष सहकारीबाट बचत फिर्ता नपाउनेमा राना मात्र होइन बौद्ध, जोरपाटी क्षेत्रकै दर्जन पीडित छन् । बौद्धका राम श्रेष्ठले पनि आरक्ष सहकारीबाट रु आठ लाख बचत फिर्ता पाउनुपर्ने तर अझै पाउन सक्नुभएको छैन । जोरपाटी क्षेत्रका अमृता श्रेष्ठ र बिना श्रेष्ठले पनि सहकारीबाट रु एक लाख हाराहारीमा रकम फिर्ता पाउन सक्नुभएको छैन । सहकारीले करिब पाँच वर्षअघि बौद्धमा सदस्य सेवा केन्द्र स्थापना गरेको थियो । सहकारीको मुख्य कार्यालय भने काठमाडौँ महानगरपालिका– १५ सीतापाइलामा छ । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि गत भदौदेखि नै कार्यालय बन्द रहेको बचतकर्ताको गुनासो छ । सहकारीको कार्यालयमा राखिएको फोनमा फोन उठदैन । कार्यालयमा तालाबन्दी भएको छ । सयौँ पीडितको दिनचर्या सधैँ सहकारी धाउने हुन थालेको छ । बचत फिर्ता पाउँ भनी पीडितले महानगरपालिकाको सहकारी विभागमा उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता गराए पनि पैसा कहिले पाइन्छ भन्ने पीडितलाई पत्तो छैन । महानगरपालिका कार्य क्षेत्र भएका धेरै सहकारीले बचत फिर्ता गर्न नसकेको समाचार सार्वजनिक भएपछि स्थानीयस्तरमा सहकारी समिति पनि गठन गरिएको छ ।

महानगरपालिका–९ का अध्यक्ष रामजी भण्डारीले समिति संयोजकका रुपमा काम गर्नुभएको छ । महानगर क्षेत्रका सहकारीको गतिविधि र अवस्था अध्ययन गरी सहकारी व्यवस्थापनका लागि कानुनी व्यवस्था गर्न लागिएको वडाध्यक्ष भण्डारीले राससलाई जानकारी दिनुभयो । महानगर क्षेत्रका सहकारीमा बचत गरेका बचतकर्ताको पैसा फिर्ता गर्ने गरी समितिले स्थानीय सरकारका तर्फबाट कानुनी व्यवस्था गर्न लागेको उहाँले सुनाउनुभयो । महानगरपालिकाले महानगर क्षेत्रका सहकारीमा बचत गरेको प्रमाणसहितको प्रतिलिपि बुझाएर सहयोग गर्न पनि बचतकर्तालाई आह्वान गरेको छ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १३, २०७९ १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट