अवैध लागूऔषधहित विभिन्न ठाउँबाट सात जना पक्राउ

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १७:३९
अवैध लागूऔषधहित विभिन्न ठाउँबाट सात जना पक्राउ

काठमाडौं । विभिन्न स्थानबाट लागूऔषधसहित सातजना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाल र सोही उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय बिनोद श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट प्रदेश–१–०२–०४७ प ७८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

योसँगै सिरहाको मिर्चैया नगरपालिका–६ कटारी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५३ मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका–६ बस्ने २५ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका–१० बस्ने २५ वर्षीय ललित कुमार राम र सोही नगरपालिका–३ बस्ने २४ वर्षीय देवन यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१–००४ प २५६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यता सर्लाहीको बलरा नगरपालिका–१ हथियौलबाट अवैध लागूऔषध गाँजा करिब २० केजी बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बलराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलका चालकले मोटरसाइकल छोडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १७:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट