सरुवा रोग अस्पताल शिलान्यास

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:२६
सरुवा रोग अस्पताल शिलान्यास

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गर्नुभएको छ । अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले प्रदेशका सबै नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुन लागेको बताउनुभयो । मन्त्री पन्थीले निर्माणाधीन अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउँदै यसलाई देशकै महत्वपूर्ण अस्पतालका रूपमा विकास गरिने उल्लेख गर्नुभयो । मन्त्री पन्थीले हरेक पालिकाको आफ्नै अस्पताल निर्माण गरिनुका साथै लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार पाँच सय शय्यामा विस्तार गर्ने योजना बनाइएको बताउनुभयो । सरुवा रोग अस्पतालको आफ्नै भवन निर्माण नहुँदासम्म जग्गा लिजमा लिएर सञ्चालन गरिने उहाँको भनाइ थियो । लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले जग्गा प्राप्ति, प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइइई)लगायत प्रक्रियाका कारण ठेक्का भएको १३ महिनापछि भवन निर्माण सुरु भएको बताउनुभयो । उहाँले निर्माण ढिला सुरु भएपनि निर्धारित समयमा सम्पन्न गरिने बताउनुभयो । शिवराज नगरपालिकाका प्रमुख अजय थापाले सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने बताउनुभयो । प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी भवन निर्माणका लागि कपिलवस्तु छनोट गरिएको प्रदेश स्वास्थ्य सचिव डा विनोद गिरीको भनाइ छ । उहाँले भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिनुका साथै प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने बताउनुभयो । कोभिड महामारीको समयमा सङ्क्रमितलाई उपचारमा समस्या भएपछि प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको अवधारणाको विकास भएको थियो । पहिलो चरणमा ५० शय्याको अस्पताल निर्माण हुनेछ । विसं २०८१ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी रू २० करोड ९६ लाख तीन हजार तीन सय २६ मा स्काई सगुन जेभी बुटवलले ठेक्का सम्झौता गरेको छ ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट