गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आन्दोलनमा आजपाको समर्थन

  • मिसन संवाददाता
  • शनिबार, साउन ६, २०८० १९:४८
गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आन्दोलनमा आजपाको समर्थन

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले ‘गौर हत्याकाण्ड’का पीडित परिवारलाई न्याय दिलाउँन आफ्नो पूर्ण साथ सहयोग रहने बताएका छन् ।

रौतहटको गरुडामा आज आजपाको गरुडा नगरकमिटीद्धारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले घोषणा गरेको आन्दोलनका विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउँनुपर्ने बताउँदै उनले आन्दोलनमा पार्टीको समर्थन रहेको बताए ।

प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व मन्त्री साहले संसदमा यो बिषय पटक पटक उठाउँदै पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै आएका छन् । संसदमा साहले गौर हत्याकाण्डका दोषीलाई कारवाही गर्नुपर्ने, पीडित परिवारलाई न्याय दिनुपर्ने जोडदार रुपमा उठाउँदै आएका छन ।

गौर हत्याकाण्डका पीडित परिवारलाई न्याय दिलाउँनका लागि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग समेत भेटेर छलफल गरेको बताउँदै उनले दोषीलाई कारवाही गराउँन आन्दोलनको विकल्प नभएको बताए । सरकारमा रहेका व्यक्तिबाट आश्वास मात्रै पाईरहेको बताउँदै उनले आन्दोलनलाई शसक्त बनाउँनुपर्ने बताए ।

गत १ साउनमा पीडित संघर्ष समितिले गौरमा विशाल प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापन पत्र बुझाएको थियो । सो ज्ञापन पत्रमा गौर हत्याकाण्डका पीडितलाई न्याय दिनुपर्ने, दोषीलाई कानूनी कारवाही गर्नुपर्ने, हत्याकाण्डका मुख्य योजनाकार उपेन्द्र यादवालाई कारवाही गर्नुपर्ने लगायतका माग गरेका छन् ।

आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी समेत संघर्ष समितिले सोही ज्ञापनपत्र मार्फत दिएको छ । दोषीलाई कारवाहीका लागि भन्दै उनीहरुले संघर्षका बिभिन्न कार्यक्रम घोषणा समेत गरेका छन् ।

१४ साउन सम्ममा माग पुरा नगरे १५ साउनबाट रौतहटमा अनिश्चितकालीन आम हडताल गर्ने कार्यक्रम रहेको छ । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै संघर्ष समितिले बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको जनाएको छ ।

साउन २ गते देखी १२ गतेसम्म पालिकाहरुमा गौर हत्याकाण्डको बारेमा जानकारी र अन्तरक्रिया कार्यक्रम गर्ने, शहीद परिवार एवं पीडितहरुद्धारा धर्ना दिने, १४ गते मोटरसाईकल र्याली निकाल्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक रुपसागर देवीले बताईन् ।

२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए ।
उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए ।

त्यस घटनामा बन्दुक, बाँसको फाटा, ढुंगाले टाउँको र मुखमा हानेर मारेका थिए । त्यस्तै महिलाहरुलाई बाँसको फाटाले सम्बेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी, स्तन काटेर छटपटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो ।

यो घटना प्रचलित नेपाल कानून बमोजिम अपराध मात्रै नभई नेपाल पक्ष रहेको टरचर कन्भेन्सन लगायतका अन्य अन्तर्राष्ट्रिय महासन्धी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको छ ।

गौर हत्या काण्ड भएको भोलि पल्ट नै तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरा र संयूक्त राष्ट्र संघीय मिसन (अनमिन)का प्रतिनिधि पनि घटना स्थल पुगेका थिए । घटनाको वास्वविक तथ्य पता लगाउँनका लागि नेपाल सरकारले तत्कालिन पुनराबेदन अदालतका न्यायाधिश हरिप्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले बुझाएको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिबेदनले समेत यस घटनालाई राजनैतिक झडप नभई जघन्य एवं अमानविय अपराध गरेको भनि निष्कर्ष निकालेको थियो ।

  • मिसन संवाददाता
  • शनिबार, साउन ६, २०८० १९:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट