सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।
बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो ।
लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।
आज बिहीबार विज्ञप्ति निकालेर क्यानले भनेको छ,’ .. राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’