प्रमुख अतिथि बन्न एमालेका दुई पोखरेलले यतिसम्म गरे

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० 0८:३६
प्रमुख अतिथि बन्न एमालेका दुई पोखरेलले यतिसम्म गरे

सुदूरपश्चिमको दार्चुला जिल्ला अधिवेशनमा आफू जाने गरेर महासचिव शंकर पोखरेलले मिति तय गर्न लगाएका थिए । तर, त्यहाँ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल गइदिए ।

पोखरेललाई प्रमुख अतिथि दार्चुलाले बनाएको होइन । शंकरसित ओली रिसाएपछि ईश्वरले त्यहाँ जान पाएका हुन् । मध्यपहाडी राजमार्गको यात्राका क्रममा सुदूरपश्चिम पुगेपछि मात्र ओलीले दार्चुला जिल्ला अधिवेशन हुँदै छ भन्ने थाहा पाएका थिए । तत्कालै जिल्ला इञ्चार्ज सहदेव बोगटी र पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नालाई बोलाएर कसलाई सोधी मिति तोकेको भन्दै ओली कड्किएको एमालेमा चर्चा भएको जनआस्थाले समाचार लेखेको छ।

उनीहरूले महासचिवको अनुमतिमा उनलाई नै प्रमुख अतिथि बनाउने गरेर अधिवेशन तय भएको बताएपछि मलाई नसोधी त्यसो गर्ने शंकर को हो भन्ने प्रश्न गर्दै ओलीले ईश्वरलाई प्रमुख अतिथि बनाएर पठाउने बताएका थिए । पुस १८ गते सम्पन्न अधिवेशनले सर्वसम्मत ९० सदस्यीय जिल्ला कमिटी छनोट गरेको छ । ज्ञानेन्द्रबहादुर घर्ती जिल्ला अध्यक्ष भएका छन् । उनी एमालेका पूर्वउपाध्यक्ष भीमबहादुर रावलनिकट रहेको बताइन्छ । हुन त सुदूरपश्चिममा ओली र शंकरको विवाद अहिले मात्र देखिएको होइन ।

यसअघि प्रदेश अधिवेशनमा पनि शंकरले कमल तिमिल्सेनालाई अध्यक्ष बनाउन खोजेका थिए तर ओलीले कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने कागज गरिदिए । शंकरले स्थायी समिति सदस्य कर्णबहादुर थापाले जैसीलाई बोकेकोले तिमिल्सेनालाई च्यापेका हुन् । ओलीले तिमिल्सेनालाई केन्द्रीय सदस्य बनाउने आश्वासन दिएर अध्यक्षको उम्मेदवारी झिक्न लगाए पनि यसपटकको सचिवालय बैठकले उनलाई त्यो जिम्मेवारी दिएन ।

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० 0८:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट