आलमको मुद्धामा आज पेसी तोकिएन

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० १२:५२
आलमको मुद्धामा आज पेसी तोकिएन

रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएन। अन्तिम सुनुवाइका लागि आइतबारलाई पेसी रहे पनि न्यायाधीशहरु बिदामा भएको भन्दै पेसी नतोकिएको हो।

रौतहट जिल्लामा अदालतमा ७ जना न्यायाधीश छन्। तर आइतबार २ जना न्यायाधीश मात्रै उपस्थित छन्। त्यसो त आलमको मुद्दाबाट न्यायाधीशहरु तर्किने समेत गरेका छन्।

यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो। अदालतको आदेश बमोजिम मंसिर २४ वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन।

२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। उक्त घटनामा प्रहरीले २०७६ सालमा पुन: अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो।

आलमले २०६४ सालको संविधान सभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। बम विस्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले उक्त विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट