एकैवर्षमा ५ पटक लोकसेवामा पास भएकी मनीषालाई ओलीको बधाई

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १२:३६
एकैवर्षमा ५ पटक लोकसेवामा पास भएकी मनीषालाई ओलीको बधाई

एकै वर्षमा लोकसेवा आयोगका पाँच परीक्षामा पास हुन सफल गुल्मीकी मनीषा जिसीलाई नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

मनीषालाई बधाई दिँदै ओलीले ‘मेहनत गर्नेलाई नेपालमा केही छ भन्ने सन्देश भएको’ बताएका छन् ।

हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन गर्ने धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी छिन् । यो समाचार बिहीबार बिहान प्रकाशन भएको थियो ।

समाचार आएपछि ओलीले फेसबुकमा लेखेर बधाई दिएका हुन् ।

अध्यक्ष ओली लेखेका छन्– ‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ। यो सुखद खबर हो । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना ।’

मनीषाले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह पास गरिन् ।

लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा सफल भइन् । फेरि सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट