आफ्नै देशको धार्मिक स्थल पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १२:१0
आफ्नै देशको धार्मिक स्थल पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता

नवलपरासी,पश्चिम् । सडक सञ्जालको पहुँच नहुँदा वर्षौदेखि आफ्नै देशको धार्मिक स्थल पुग्न भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीबाट वाल्मीकि आश्रम पुग्नका लागि भारतीय बाटो भैसालौटन हुँदै जानू पर्ने बाध्यताको अन्त्य हुन सकेको छैन ।

वाल्मीकि आश्रम जोड्न नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलसमेत दुईवर्षदेखि बाटो निर्माण नहुँदा प्रयोगविहीन छ ।ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको वाल्मीकि आश्रम बाटो नभएकै कारण ओझेलमा परेको छ ।

पुलहुँदै वाल्मीकि आश्रम पुग्नका लागि चितवन राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्र प्रयोग गर्नु पर्दछ। बाटो बन्ने योजना अनुरूप २०७१ सालमा ६ करोड ७४ लाख बजेटमा पुल पुल निर्माणको काम सुरु भएर २०७८ मा सम्पन्न भएपनी पुल पारिबाट बाटो बिस्तार नहुँदा पुल समेत प्रयोगविहीन जस्तै बनेको छ ।

निकुञ्जको जङ्गल हुँदै ट्र्याक बिस्तारका लागि चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयबाट २० लाख रुपैयाँ विनियोजन भएपनी निकुञ्जको खातामा पैसा न आइपुगेकाले काम अघि बढ्न नसकेको बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज भएका कारण सरकारी निकायबिचको आपसी प्रक्रियागत र कानुनी जटिलताका कारण ट्र्याक बिस्तारमा ढिलाइ भएको हो । वाल्मीकि आश्रम चितवन जिल्लाको माडी नगरपालिका–१ को निकुञ्ज जङ्गल क्षेत्रमा रहेको छ। त्यहाँ पुग्नका लागि चितवनबाट जाने बाटो छैन।

ट्र्याक बिस्तारका लागि निकुञ्ज बाट पत्राचार भैसकेको र बजेट प्राप्त भएपछि तत्कालै गोरेटो निर्माणको काम अघि बढ्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।वाल्मीकि आश्रमकै लागि पुल बनेको हो अहिले बिनयि त्रिवेणी गाउँपालिका र माडी नगरपालिकाले पनि विशेष चासो देखाएका कारण निकुञ्ज सँगको समन्वयमा काम अघि बढेको छु तिवारीले भन्नू भयो ।

वाल्मीकि आश्रम, ऋषि वाल्मीकिले रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ। त्रेता युगमा रामले सीतालाई त्याग गरेपछि वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमूनी विलीन) गरेको स्थानका रूपमा पनि यो स्थल रहेको धार्मिक मान्यता छ। यहाँ नेपाली मात्र होइन भारतीय पर्यटकसमेत आउने गरेका छन् । भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यताका कारण पनि नेपालीहरू आश्रम पुग्न असहज मान्ने गरेका छन् ।आश्रम पुग्न निर्माण गरिएको पुल ट्र्याक बिस्तार भएसँगै सञ्चालनमा आउने भएसँगै यस क्षेत्रको विकासले समेत गति लिने र पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने सबैको विश्वास छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट