धुर्मुस सुन्तली फाउन्डेसनले हात उठाएपछि अलपत्र रहँदै आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिउको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र परेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरिएको थियो ।
आज एक सार्वजनिक सूचना जारी गर्दै महानगरले इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औँ दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ ।
बागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो ।