सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा थुनामा रहेका पूर्व सांसद इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण मुद्दा विशेषमा अन्तिम सुनुवाइ केही दिनदेखि चलिरहेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा उनको मुद्दाको बहस अन्तिमतिर पुगेको छ। आइतबार सम्भवत: उनको फैसला हुनसक्ने विशेष अदालतले जनाएको छ।
तामाङको तर्फबाट उनको कानुन व्यवसायीले बहस अन्तिमतिर पुर्याएका छन्। अब सरकारी वकिलले जवाफी बहस गर्ने अनि फैसला सुनाउने अदालतलको तयारी छ।
गत मंगलबारबाट तामाङको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो। मुद्दा हेर्दाहेर्दै राखेर सुनुवाइ भइरहेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङसहित उनको परिवारका ६ जना विरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो।
विभागले तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती बिना श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।
विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ।
तामाङका छोरीहरु प्रतीक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ। कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ।