मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० 0९:५९
मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिए । मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए ।

मधेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ । जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनी सहज अवस्थामा छन् ।

नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ ।

मधेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् । राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० 0९:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट