तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० 0९:५३
तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ। सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो।

आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको ४ अर्ब १६ करोड लागतमा २०७९ कात्तिकबाट ३ वर्षमा काम पूरा गर्न ठेक्का लागेको थियो। कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष ४८ करोडको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०/८१ मा ५८ करोड रुपैयाँ विनियोजन भएको थियो। तर उक्त रकममध्ये पुस मसान्त (६ महिना)भित्रमा ४० करोड सकिसकेको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए। ‘अब आयोजनालाई विनियोजित रकम १८ करोड रुपैयाँ मात्रै बाँकी छ, तर निर्माण व्यवसायीलाई काम गरेको तिर्नुपर्ने रकम २५ करोड रुपैयाँ छ’, उनले भने।

आयोजना निरन्तरताका लागि चालु आवको असार मसान्तसम्मका लागि सरकारलाई थप १ अर्ब २० करोड रुपैयाँ माग गरेको उनले जानकारी दिए। सरकारले तत्काल रकम निकासा गरेर सहयोग नगरे आयोजना प्रभावित हुने निरौलाले जानकारी दिए।

करिडोरको शनिबार जिल्ला समन्वय समिति धनकुटा, जिल्ला प्रशासन कार्यालय तथा धनकुटाका सुरक्षा निकाय र नेपाल पत्रकार महासंघ धनकुटाको टोलीले धनकुटामा पर्ने करिडोरको २८ किमी सडकखण्डको अनुगमन गरेको छ। अनुगमनका क्रममा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर जयराम अधिकारीले जानकारी दिए।

आयोजनाका लागि देखिएको आर्थिक समस्या समधान गर्न धनकुटाबाट निर्वाचित सांसदमार्फत सहयोगका लागि सरकारलाई अनुरोध गर्ने जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जानकारी दिए। आर्थिक अभाव तथा आयोजनाका समस्याका बारेमा जिल्लामा थप छलफल गरेर सरकार र मन्त्रालयलाई जानकारी गराउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीन स्वशासित क्षेत्र तिब्बतलाई किमाथाङ्कासँग जोड्न २०६५ सालमा आयोजना सुरु गरिएको थियो।

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० 0९:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट