सीआईबीको निगरानीमा पूर्व दुई आईजीपी सिंह र खनाल

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० १५:५५
सीआईबीको निगरानीमा पूर्व दुई आईजीपी सिंह र खनाल

सुन तस्करी प्रकरण जाँचबुझ आयोगले नेपाल प्रहरीका दुई पूर्वप्रमुखलाई निगरानीमा राख्न सिफारिस गरेको छ। चर्चित ६१ किलो सुन तस्करी र अन्य प्रकरणमा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्य संयोजकत्वको आयोगले पूर्वमहानिरीक्षक धीरजप्रताप सिंह र सर्वेन्द्र खनाललाई सुन तस्करहरूसँग निरन्तर सम्पर्कमा रहेको ठहर गर्दै निगरानीमा राख्न सुझाव दिएको हो।

गृह मन्त्रालय स्रोतले भन्यो, ‘दुई पूर्वमहानिरीक्षक सिंह र खनाललाई निगरानीमा राख्न सिफारिस गरेको छ ।’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्व आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो । यसअघि आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आफूले बुझेको उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले प्रतिवेदनको सिफारिसको आधारमा दोषीमाथि कारबाही र कानुनी दायरामा ल्याउने बताएका बेला सीआईबीले प्रतिवेदन बुझेको हो ।

आइतबार गृह मन्त्रालयमा सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले प्रतिवेदन बुझेका हुन् । ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुगेको थियो।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट