हामी पुरानो भयौ, नयाँ मान्छे खोजौ : परशुराम तामाङ

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० १0:५७
हामी पुरानो भयौ, नयाँ मान्छे खोजौ : परशुराम तामाङ

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य परशुराम तामाङले आफुहरु पुरानो भएको बताउदै जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा नयाँ मान्छेको खोजि गर्नु पर्ने धारणा राखेका छन् । हिजो सम्पन्न बुढानिलकण्ठ नगर पालिका कमिटीको नगरभेलामा बोल्दै तामाङले उक्त विचार ब्यक्त गरेका हुन् ।

भेलामा बोल्दै उनले भने, ‘ज्ञानेन्द्र शाहदेखी ज्ञानेन्द्र शाहिसम्म र कमल थापा देखि राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईंसम्म जनताले बलिदानबाट ल्याएको उपलब्धि उल्टाउनु उठ्ने दुस्साहस गरेका हुनाले हामीहरु सचेत बन्नु पर्छ।’

उनको मन्तब्यको पूर्णपाठ :

बुढानिलकण्ठ नगर पार्टीको अध्यक्ष तथा आजको नगर भेलाका अध्यक्ष कमरेड, हाम्रो पार्टीको केन्द्रीय समितिको श्रद्द्य अध्यक्ष तथा नेपाल सरकारको सम्माननिय प्रधानमन्त्रीज्यु, उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज कमरेड , केन्द्रीय समितिको सहयोद्दा कमरेडहरु, तथा उपस्थित कमरेड तथा साथीहरू, क्रान्तिकारी अभिवादन !
सर्वप्रथम, नगरभेलाको सफलताको कामना गर्दछु र प्रतिनिधि एवम् पर्यवेक्षक कमरेडहरुलाइ सचेत , प्रतिबद्ध र सक्षम जनबिस्वासिलो कमिटी बनाउनु सकोस् भन्ने शुभकामना पनि दिन्छु ।

श्रद्द्य अध्यक्ष कमरेड, म आफू पनि बुढानिलकण्ठ निवासी भएको र यहाँको कमिटीलाई नजिक बाट बुझेको नाताले यहाँको प्रमुख समस्या भनेको नगर पार्टी र सरकार, स्थानीय कार्यकर्ता र माथिल्लो नेतृत्वसङ्गको दुरि नै हो । नेतृत्वले कार्यकर्ता न चिन्ने, बजेटले नगर पार्टी न चिन्ने, जनताले न्याय र सुरक्षा नपाउने यहि हुन् यहाँको पेचिलो समस्या । दोस्रो, यहाँका पुराना मुख्य आदिवासी बस्तिहरु नेवार, तामाङ र दलित शिल्पिका बस्तीहरु थिए । आज पहाड तराईबाट बसाइँ सराइ, क्रोनी क्यापिटालिजम, पुजीवादी भुमण्डलिकरण र शहरीकरणले यी आदिवासी नेवार , तामाङ र दलित बस्तीहरु भुमि , पेशा र रोजगारीबाट बिस्थापित भएका छन् । शहरीकरणले नयाँ समस्या थपेको छ सुकुम्बासी, अव्यवस्थित बासीहरु । यी बस्तिहरु आज उजाड र कता-कता कसैको आस्रय खोज्नेमा भौतारिरहेका छन् । अझै पनि हरेक वर्ष बसाइँ आउने रोकिएको छैन । यहाँको युवा र अधवैश्यहरु बिदेशी रोजगारीमा जाने झन बढेको छ । यहाँ स्रोत र बिकासको प्रसस्त संभावना छन् । भौतिक रूपमा ठुला घर र शहर बनेको छ तर शहरको जीवन्त्ता हराएको छ । यी पेचिला समस्याको हल वा विकल्प हामीले दिनु सके यहाँ माओवादी केन्द्रको पार्टी बन्नुलाई कसैले छेक्न सक्दैन भन्ने मैले बुझेको छु ।

अब म हाम्रो अभियान वारे केही कुरा भन्छु ।

कमरेडहरु, यतिबेला सिङ्गो हाम्रो पार्टी “गाउँ गाउँमा माओवादी विशेष रुपान्तरण अभियान” मा छ । यस्को उद्देश्यलाइ कसरी बुझ्ने ? – यस्को विश्लेषण र संस्लेषण हुनुपर्छ । मार्क्सले भनेका छन् – “हरेक युगको आफ्नो दर्शन हुन्छ ।” त्यसैले युग चिन्नु पर्छ । समाज चिन्नु पर्छ । समाज चिन्नुको अर्थ समाज भित्रको अन्तर्विरोध चिन्नु हो । कम्युनिस्ट पार्टी त्यही समाजको सचेत वर्गभित्रको अग्रदस्ताको सङ्गठन हो । त्यसैले त्यहाँ समाजको अंतर्विरोध , जस्लाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलले प्रभावित पारेको हुन्छ, राजनीतिक रूपमा अभिव्यक्त हुन्छ । हामीले त्यो अंतर्विरोधको चरित्र र हलको आकाङ्क्षा अर्थात् युगको (दर्शन ) पहिचान गर्ने हो ।

इटालीका क्रान्तिकारी तथा मार्क्सवादी विचारक एन्टोनिओ ग्राम्सीले भनेका छन् – ” जब पुरानो मरिरहेको हुन्छ र नयाँ जन्मिसकेको हुदैन , यो अवधिमा कैयौं प्रकारका अस्वस्थ (बिकृत) सङ्केतहरु जन्मिन्, तब यथार्थमा सङ्कट प्रकट हुन्छ ।” नेपाल केही शताब्दीदेखि यस्तै कष्टकर तर सङ्क्रमणको निर्णायक चरणबाट गुज्रिरहेको छ । नेपालमा अझै राजनीतिक रूपमा स्थिर भैसकेको छैन । यो आफै परिबर्तनको सङ्घारमा परिवर्तनकारी शक्ति र यथास्थितिवादी शक्तिका बिचको टकरावको स्थितिमा छ । यतिबेला हाम्रो पार्टी र हाम्रो नेतृत्वलाई , देश र जनताको हितमा राम्रो काम गर्दागर्दै पनि, चारैतिर घेराबन्दी र आलोचनाको केन्द्रमा तानिएको छ ।

किनभने हामीले हिजोको साम्राज्यवाद द्वारा पालन पोषण र संरक्षण गरि हुर्काइएको एकल जातीय हिन्दुतन्त्रात्मक सामन्ती निरङ्कुश राजतन्त्रलाई ढालेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष समाबेशी राज्य खडा गरेका छौँ । पुरानो सत्तालाइ नयाँमा रुपान्तरण गर्ने बृहत् योजनामा लगेका छौँ । अहिले हाम्रो समाज, सामन्तवादी युगबाट जनतान्त्रिक युगमा गणतन्त्र हुँदै सङ्क्रण हुँदैछ । हामी चाहन्थौ जनगणतन्त्रमा बदल्न । तर, समाज परिस्थिति पाको नभएसम्म क्रान्तिकारीको इच्छाले मात्र हाम्रो बाटोमा समाज हिड्दैन । हिन्दु सङ्किर्ण, सामन्ती संस्कृति र मनोबिज्ञान अब उपभोक्तावादी भुमन्डलिकृत पुजीवादी संस्कृतिमा सङ्क्रण हुदैछ । समाज ब्यबस्था नोकरशाही, दलाल र क्रोनिक पुजीवादतिर घ्रस्रदैछ । त्यसैले यहाँ पतनशिल बर्ग र नयाँ उदयिमान क्रान्तिकारी परिवर्तनकारि बर्ग बिच तीब्र वर्गसंघर्ष चलिरहेको छ । त्यही पतनशिल बर्ग, जस्को लुटमाथी खडा भएको स्वर्ग भत्केको थियो, ज्ञानेन्द्र शाहदेखी ज्ञानेन्द्र शाहिसम्म र कमल थापा देखि राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईंसम्म जनताले बलिदानबाट ल्याएको उपलब्धि उल्टाउनु उठ्ने दुस्साहस गर्दैछन् । त्यस्कै प्रतिबिम्ब हो जन आन्दोलनको सहयात्री पार्टी भित्र देखा परेको ढुलमुले चरित्र । जनयुद्ध र जन आन्दोलनको उपलब्धि, आदिवासी जनजाति आन्दोलन , मधेस आन्दोलन, महिला आन्दोलनको उपलब्धिहरु जोगाउने कुरामा देखाएको काङ्ग्रेस र एमालेको ढुलमुले चरीत्र । यो नै पुरानो शक्ति र नयाँ परिवर्तनकारी शक्ति बिचको फरक हो । यस्बाट के प्रष्ट छ भने नेपालमा अग्रगमनकारी प्रगतिशील शक्तिले जित्छ कि प्रतिगामी शक्तिले , अझै टुङ्गो लागि सकेको छैन ।

हामीले पनि हिजो केही कमजोरी गरेका थियौ । प्रगतिशिल रुपान्तरण हुनुको सट्टा हामिहरु पश्चगामीहरुसङ्ग रमायौ र कमरेड माओले भन्नू भएजस्तो निरन्तर क्रान्तिको बाटोमा बिराम लगायौ । दोस्रो , आजको नयाँ परिस्थितिमा हिजोको पुरानो विचार, सिद्धान्त र राजनीतिले नेतृत्व गर्न सकेन र सक्तैन पनि । २१ औं शताब्दीमा जनताको नयाँ चेतनाका लागि नयाँ विज्ञान र प्रविधि – डिजिटल युगको नेतृत्व गर्न नयाँ बिचार, नयाँ राजनीति र नयाँ संस्कृति आवश्यक छ । मार्क्स-एङ्गेल्सले भनेका छन् – “दार्शनिकहरुले संसारको ब्याख्या गरेका छन् , मूल कुरा त बदल्नु हो ।” तर, नयाँ बिचार र कार्यक्रम दिन सकिएन भने पुरानो आफै बदलिदैन । इतिहासले के पुष्टि गर्‍यो भने हिजो हामिले तयार पारेको ढाचा, पद्धति , शैली , संस्कृति आदि आजको क्रान्तिका लागि बाधक बनेका छन् । हाम्रो “गाउँ गाउँमा माओवादी बिशेष रुपान्तरण अभियान” भनेको यहि र यहि सिक्ने हो । जनतालाई पढ्ने, जनताको कुरा सुन्ने, जनताबाट सिक्ने र आफ्नो भुत्ते भैसकेको विचार , राजनीति र संस्कृतिमा धार लगाउने हो । समाज बदल्नु भनेको समाजको बिचार , दर्शन बदल्ने, विचार सहित नयाँ कार्यक्रम योजना निर्माण गर्ने र आफै पनि नयाँमा रुपान्तरित हुने हो ।

भनिन्छ – विचार र सिद्धान्तले लैस न भएको कार्यकर्ता र जनतासङ्ग न जोडिएको पार्टीको जीवन हुदैन । अहिलेसम्मको भरोसा योग्य, बिज्ञान सम्मत र सर्वहाराको मुक्तिको बिचार मार्क्सवाद हो । नेपाली समाजको सापेक्षतामा मार्क्सवादलाई समृद्ध पार्दै हाम्रो अभियान बिचारले परिपक्क गर्ने र जनतासङ्ग जोडिने र सरकारमा जादा पनि जनता न भुल्ने सङ्कल्प जनतासङ्ग गर्ने अभियान हो । जनता अमुर्त चिज हैन, नेपालको सन्दर्भमा बर्गिय , जातीय , क्षेत्रीय, लैङ्गिक मुक्ति – अर्थात समानता र स्वतन्त्रताको बिचार र राजनीतिको अन्तरसम्बन्धको समुच्चय हो । यसैबाट हामी विचारको बिकास गर्नु, जनतालाई सङ्गठित गर्नु र जनताको असन्तुष्टि ठिक ढङ्गले सम्बोधन गर्नु सक्छौ र गर्नु पनि पर्छ । यो भन्दा अर्को बाटो छैन । यही कारणले पुराना कार्यकर्ता नयाँमा बदलिने, नयाँ कार्यकर्ता लाई प्रवेश गराउने र पार्टी सङ्गठन पुर्गठन गर्ने भनेको हो । जनता सङ्ग जोडिने भनेको जनताको समस्या, राष्ट्रिय मुद्दा  र देशको समृद्धिको आकाङ्क्षा सङ्ग जोडीनु हो । यसो नगर्ने हो भने हामीले पनि ३० वर्ष शासन गरेको पश्चिम बङ्गालको कम्युनिस्ट पार्टीको हालत हामीले भोग्नु पर्दैन भन्ने कहिँ छैन । सिक्ने पाठ यहि हो । नेपालमा क्रान्तिको कुरा गर्ने तर पुरानो मोडेलको कुरा दोहोर्‍याउने छन् जुन अब असान्दर्भिक भैसक्यो । अभियानको सारतत्व भनेको यहि हो ।

नेपालका कम्युनिस्टहरुप्रती सोझिएको अर्को गम्भीर प्रश्न छ – कम्युनिस्ट नाम गरेको पार्टीले नेपालको शासन ब्यबस्थामा सहभागी भएको ०४७ सालदेखि तीन दसक भयो , २०६३ देखि १७ वर्ष भयो , यो पछिल्लो अबधिमा ६ जना प्रधानमन्त्रीमा ५ जना कम्युनिस्ट नामबाटै प्रधानमन्त्री भए । तर देशमा युवाले भविस्य देख्न छोडेका छन् । अदक्ष श्रमजीवी वर्गको कुरा नै अर्को , प्राध्यापक, इन्जिनियर , डाक्टर अनि बुर्‍ओक्रासी भैसकेका ब्यक्तिहरु पनि देशबाट पलायन हुँदैछन् । रोजगार दिनु सकेको छैन । शिक्षा काम लागेको छैन । दलाल पुजीवाद हावी भएको छ । राष्ट्रिय पुजिपतिहरु पतनोन्मुख छन् । सुनको कचौरा बोकेर भिक्षाटनमा हामी लागेका छौ । वैदेशिक हस्तक्षेप घटेको छैन । दलाल क्रोनी क्यापिटालिजमले हामी र पार्टी नै खाने खतरा बढेर गएको छ । यसको दोषी को हो ? – पन्चायत र काङ्ग्रेसलाई मात्र दोष थोपरेर पुग्ने छैन । यस्को पछिल्लो १७ वर्षमा हाम्रो पार्टी र नेतृत्व कुनै न अर्थमा सम्लग्न छ । हामीले पनि दोषको अङ्श बोक्न र आत्म आलोचित हुनुपर्ने हुन्छ । यस्को उत्तर अरु शक्तिले खोज्दैन । हामीले नै परिवर्तनको नेतृत्व गरेको नाताले हामीले नै खोज्नु छ र यस्को उत्तर पनि जनतासङ्गै छ । जनताको जनजिबिका कठिनसाध्य बनेको छ । समाज साच्चै बिद्रोहको डिलमा आगोको भुङ्ग्रोमाथी परिवर्तनको आशमा छ । जनताहरु क्रान्ति चाहन्छन् , राष्ट्र मुक्ति चाहन्छ । पुरानो राजनीतिक शक्तिहरु अपायज भैसक्या छन् , हामी माओवादीको अग्नि परिक्षा हुदैछ । हामी माथि जनताको आश मारिसके छैन । तर, बिश्वास धर्मराएको छ । कार्यकर्ता लडखडाएका छन् । हामी यो परिक्षामा खरो उत्रिन्छौ कि भाग्छौ ? हामी भाग्छौ कुनै नयाँ जन्मिन्छ । हामी न हुँदैमा समाजको गति रोकिदैन । हामी विचार, सिद्धान्त र राजनीतिमा नयाँ, व्यबहारमा नयाँ, इमान्दार र खरो उत्रिन्छौ , हामी नै परिबर्तित नयाँ बन्छौ , परिवर्तन फेरि पनि हाम्रो नेतृत्व मै सम्भव हुन्छ । समाज विकासको गतिको नियम यहि हो – पुरानो हट्ने र नयाँले त्यस्को ठाउँ लिने । हामीले नयाँ बन्नै पर्छ, जनयुद्धको नेतृत्व र जन आन्दोलनको परिचालन कर्ताको नाताले हामिलाइ यहाँबाट रुपान्तरित हुनु बाहेक अन्य बहनाबाजी गर्ने वा भाग्ने छुट छैन । अरुले गर्न नसकेकोले त देश र जनतालाई माओवादी चहिएको हो । हामीले “नेपालमा नै नेपालीको भविस्य छ” भन्ने प्रमाणित गर्नु पर्छ ।

हामीले हाम्रो गन्तब्य – समाजवाद, साम्यवाद , सहि निर्क्यौल गरेका छौ । हामीले २१ औं शताब्दीमा समाजवादको नेपाली मोडेल भनेका छौँ । हामीले संघर्ष र क्रान्तिमा श्रेष्ठता हासिल गर्‍यौ । तर, सुशासन, सामाजिक न्याय र सुरक्षा र समृद्धि दिने कुरामा कम्युनिस्टहरु माथी असक्षमता र अयोग्यताको आरोप लागेको छ । क्रान्ति र आन्दोलनमा सफल , सामाजिक आर्थिक रुपान्तरणमा असफल हुने, अब हामिलाइ क्षम्य छैन । अन्य काङ्ग्रेस कम्युनिस्ट एमालेले न सकेर नै जनताले माओवादी कम्युनिस्टको आवस्यकता र विकल्प देखेका हुन् ।

यो चार महिने अभियानको दौरानमा वागमती प्रदेशमा विभिन्न जिल्लाका पार्टी कमिटी र जवस र मोर्चासङ्गको मेरो अन्तर्कृया, छलफल र अध्ययनको साराम्श के हो भने माओवादी पार्टी भित्र मेहनती, इमानदार, सक्षम , योग्य र भिजनरी नेता कार्यकर्ताहरुको कमि पटक्कै देखेको छैन । तर, त्यस्को यथोचित छनौट, पदस्थापन र परिचालनको समस्या जटिल बनेको रहेछ । जनतामा जोडिने जनबर्गिय सङ्गठन र मोर्चाहरु बढी पार्टीकृत भएका रहेछन् । आफै स्वस्फूर्त रूपमा चल्नुपर्ने जबस र मोर्चाहरु पार्टी निर्देशन पर्खेर बस्ने भए छन् । अहिले जवस र मोर्चाहरु स्वायत्तरुपमा आफ्ना पेशा र समुदायको मुद्दा  र आन्दोलन उठाउनु न सक्ने भएका छन् । त्यसैले पार्टी जनता र जनताको समस्याबाट , पार्टी र जनता जोड्ने पुल – पेसागत सङ्गठन, जनवर्गिय सङ्गठन र जातीय/ क्षेत्रीय मोर्चा – भत्केपछि, कटेको देखिन्छ । कृषक, मजदुर, पेशागत, दलित , बर्ग विशेष र उत्पीडित आदिवासी जनजाति विशेषका मुद्दाहरु न उठ्दा र आन्दोलन सिथिल हुँदा पार्टीले मुद्दा  छोडेको, विचार छोडेको र गतिहीन हुन पुग्यो । एकल नेता चलामान भए पनि सिङ्गो पार्टीको जिवन प्यारालाइऐस्को रोगले आक्रान्त बन्न पुग्यो ।

हाम्रो हिजोको इतिहास साच्चै कै बिरता, बलिदान र युद्ध सौन्दर्यको गर्ब गर्न लायक इतिहास हो । तर, त्यो इतिहास आजको लागि सन्दर्भ मात्र हुन सक्छ । आजको समाज हिजोको तुलनामा भिन्न छ, खुल्ला र प्रतिष्पर्धी छ । युद्ध नभोगेको तर कथा मात्र सुन्ने पनि ३० बर्षका जवान भैसकेका छन् । त्यहा अब इतिहासले राज गर्दैन । खुल्ला र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर बर्तमानले बर्तमानमा हस्तक्षेप गरेरमात्र समाज फेर्न सकिन्छ । हाम्रो पार्टी अध्यक्षको नेतृत्वको सरकारले सुशासनको दिशामा प्रशसनिय काम थालेको छ । देश उत्साहित भएर परिणामको प्रतीक्षामा छ । निराश जनतामा माओवादीले नै गर्छ र गर्न सक्छ भन्ने फेरि बिश्वास पलाउन थालेको छ ।

यो परिस्थितिमा दिशाबिहिन राष्ट्रिय राजनीति हैन, अल्पबिकास र गरिबीको चक्रब्युहमा फसेको नेपालको अर्थराजनितिमा नयाँ किसिमको हस्तक्षेपबाट मात्र समृद्धि र सम्मुन्नत समाजवादको दिशा दिन सकिन्छ । सम्बिधानको कार्यन्वयन मात्र हैन, हाम्रा अगाडिको बाटोमा बाधक संबैधानिक प्राभ्धान हटाउने प्रगतिशील सोच र योजना आवस्यक छ । हामी पुरानो रहेर हैन, नयाँ रुपान्तरित भएर मात्र यो काम गर्नु सक्छौं । इतिहासमा टासिएर रह्यौ भने आत्मा प्रशम्साको सिकार हुने डर हुन्छ । हामीले अहिलेकै भुइ टेक्नै पर्छ । यो अभियानमा सचेत “नयाँ मान्छे” को खोजी हुनुपर्छ । हामी “नेपालमै सबै नेपालीको भविस्य” देख्नु पर्छ र हामीले बनाउने योजना त्यही हो। मलाई के बिस्वास जागेको छ भने नेपालको समृद्धिका लागि हार्ड वएरमा प्रदेश केन्द्रित पुन:सरचना, सफ्ट वएरमा – शिक्षा, रोजगार र कृषिमा आधारित उत्पादनको एकीकृत योजना – ले, बिस्थापित जनतालाई पुन : स्थापित गर्ने, रोजगार खोज्ने हैन सबै युवाहरूलाई उद्धमी बनाउने नितिले र पार्टी त्यही ढाचामा पुनर्निर्माण गरेर जानू सकियो भने स्वतन्त्र मान्छेको नौलो समृद्द समाबेसी नेपाल् निर्माण गर्न सकिन्छ ।

अन्त्यमा, तपाईंहरुको यो भेलाले यो दिशामा बुढानिलकण्ठ नगरका शोषित बर्ग र उत्पीडित समुदायमा उत्साह जगाउने बिश्वास मैले लिएको छु। भेलामा निमन्त्रणाका लागि धन्यवाद ! फेरि पनि सफलताको शुभकामना !

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट