कान्तिपुरका अध्यक्ष पक्राउ : ६ अर्ब १३ करोड हिनामिना

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १६:0९
कान्तिपुरका अध्यक्ष पक्राउ : ६ अर्ब १३ करोड हिनामिना

कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । स्रोतका अनुसार ठकुरीसहित सहकारीका अन्य ६ पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ ।’

फागुन ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट सहकारीलाई समस्याग्रस्त घोषणा भएको जनाइएको छ । २९ माघमा विभागले सहमकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।

कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको खुलिसकेको छ । कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा गत असारमा करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत थियो ।

असारपछि संस्थाले केही बचकर्तालाई जग्गा दिएर ‘सेटलमेन्ट’ गरे पनि संस्थाले समस्या समाधानका लागि तदारुकता नदेखाएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको विभागले जनाएको थियो ।

सहकारीले गत असारमा सेयर पूँजी करिब ४० करोड र ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । मन्त्रालयले समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिमा पठाएपछि सम्पत्ति र दायित्वको विवरण यकिन गर्ने कार्य गर्ने छ । सहकारी सञ्चालकहरूका अनुसार ६ अर्ब २२ करोड ऋण लगानीमध्ये मुस्किलले ३० प्रतिशत वास्तविक हो ।

समस्याग्रस्त घोषणा भएको पत्र मन्त्रालयबाट प्राप्त भएको र सहकारी विभागले गरेको अुसन्धान फाइल मगाएको समितिका सदस्यसचिव केशवप्रसाद पौडेल बताउँछन् । विभागबाट फाइल आएपछि सहकारीको सम्पत्ति र दायित्व खोजी सुरु हुने उनले बताए ।

बचकर्ताबाट संकलन गरेको स्रोतमध्ये ठूलो हिस्सा सहकारीका पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको थियो ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट