काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने भएको छ । रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स ९आइएफआर० प्रणाली लागू भएको विमानस्थलले जनाएको छ ।यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानाएको छ । यती एअरलाइन्स स्रोतका अनुसार उक्त प्रणालीबाट यतीले शुक्रबार जहाज उडान र अवतरण गर्ने तयारीमा छ ।
विमानस्थल प्रमुख गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो । ‘अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिन तयार छ,’ उनले भने । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो ।
विमानस्थल सबै उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन ९एआइपी० प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने उनले बताए । सूचना प्रकाशन भएको आज ४२ दिन पुगेको छ ।
यस्तै आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स ९भिएफआर० को तुलनामा निकै सुरक्षित र सहज भएको दाबी नागरिक उड्डयन प्राधिकरणको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ ।
काठमाडौंसहित नेपालगञ्ज, भैरहवा र भरतपुरमा पोखराबाट उडान गरिरहेको बुद्ध एअर फागुन २५ गतेदेखि व्यवसायिक रात्रिकालीन उडान भर्ने भएको हो । रात्रिकालीन उडानका लागि ४ वटा जहाज पोखरामा रहने बताइएको छ । आजदेखि रात्रिकालीन उडानका लागि तयार भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै अन्योल छ ।