पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १५, २०७९ १७:३५
पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा

नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गर्न लागेकोे राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ । यही चैत १७ गते लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक सङ्कट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले बताउनुभयो । “महासङ्घमा सदस्यता शुद्धीकरणको मुद्दा सधैँ उठ्ने गरेकाले सदस्यताको प्रारम्भ र अन्त्यसम्म शाखाको भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “शाखाले नै निर्णय लिनसक्ने हो भने केही न केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’ पत्रकारको समस्या र मिडियामा आर्थिक सङ्कटका सम्बन्धमा पनि कुरा उठाइने अध्यक्ष पोखरेलले बताउनुभयो । पछिल्लो समयमा मुलुकमा आर्थिक सङ्कट सिर्जना भएको र त्यसकारण वा अन्य कारणबाट पत्रकारमा परेको समस्या पहिचान गरिने र समाधानका लागि पहल गरिनाका साथै मिडिमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि के गर्न सकिन्छ भन्नेबारे समेत खोजी गर्न लागिएको उहाँको भनाइ थियो । यसैगरी अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट पत्रकार र मिडियासँग सम्बन्धित विधेयक तयार गर्न लागिएको र कतिपय विधेयक तयार भइसकेकाले तयार भइसकेका विधेयकका पत्रकारको हित विपरीतका विषय केलाउने र तयार हुने क्रममा रहेका विधेयकलाई कसरी पत्रकार र मिडियामैत्री बनाउन सकिन्छ भन्ने विषयमा बहस गरिने अध्यक्ष पोखरेलले उल्लेख गर्नुभयोे । उक्त सम्मेलनमा ४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समितिका पदाधिकारी तथा सल्लाहकार, मिडिया क्षेत्रका विज्ञ, प्रतिनीधिमूलकरुपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनिधि गरी दुई सय भन्दा बढीको सहभागिता रहने भएको छन् । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा प्रमुख आतिथि रहनुहुने उक्त सम्मेलनमा सङ्घीय सरकारका अन्य मन्त्रीहरु तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पनि सहभागी हुनुहुने महासचिव रोशन पुरीले जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घको बिहीबार ६८औंँ स्थापना दिवस मनाइँदै छ । महासङ्घले यस पटक उपत्यका बाहिर स्थापना दिवस मनाउने तयारी गरेको हो । स्थापना दिवसका अवसरमा भोलि बिहानै परासीमा प्रभातफेरी कार्यक्रम दिउँसो पूर्ण बैठक र साँझ गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने गरिने उहाँले जानकारी गराउनुभयो । स्थापना दिवसकै अवसर पारेर लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा महासङ्घका जिल्लाशाखा अध्यक्ष रामराज पोख्रेलले सदस्यता सुद्धिकरणको अभियानमा जिल्ला शाखा महासंघसँगै रहेको बताउनुभयो ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १५, २०७९ १७:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट