कसलाई एसपीमा उकाल्ने स्वार्थमा आयो प्राविधिकको दरबन्दी जनपदमा ल्याउने प्रस्ताव ?

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १३:४४
कसलाई एसपीमा उकाल्ने स्वार्थमा आयो प्राविधिकको दरबन्दी जनपदमा ल्याउने प्रस्ताव ?

प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फका दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्राविधिक प्रहरी समूह तर्फको सवारी महाशाखा र सङ्गीत विद्यालयको प्रमुखको दरबन्दी जनपदतर्फ ल्याउन गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् ।

इन्जिनियरिङ उपसमूह, सवारी महाशाखामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दिनेश केसीले राजीनामा दिएपछि सो पद अहिले रिक्त छ । सङ्गीत विद्यालयको यसअघिका प्रमुख (प्रहरी उपरीक्षक)ले राजीनामा दिएसँगै सो दरबन्दी पनि रिक्त भएको हो ।

नेपाल प्रहरीका डिएसपीहरूलाई एसपीमा बढुवा गर्न सकस भएसँगै आईजीपी कुँवरले दरबन्दी मिलानको प्रस्ताव गरेका हुन् । मन्त्रिपरिषद्ले प्राविधिकतर्फको दरबन्दी मिलान गर्ने निर्णय गरेमा १० जनालाई एसपीमा बढुवा गर्न बाटो खुल्छ ।

जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक मोहन पोखरेल अवकाशमा गएका छन् । पोखरेलको अवकाशसँगै रिक्त दरबन्दी र सवारी महाशाखाको दरबन्दी मिलान गरेर दुई जनालाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने तयारी गरिएको हो ।

एसएसपी बढुवा भएपछि रिक्त हुने १० जना एसपीको दरबन्दीमा बढुवा हुन १२ जना डिएसपीहरू प्रतिस्पर्धामा छन् । मेरिट लिस्टको एक नम्बरमा प्रदीप बहादुर क्षेत्री छन् । अङ्गुर जि.सी., ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, एक नारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे एसपी बढुवाका प्रतिस्पर्धी हुन् । उनीहरू २०७२ साउन ८ मा डिएसपीमा बढुवा भएका थिए । सो मितिमा बढुवा भएका ३ जना यसअघि नै एसपीमा बढुवा भैसकेका छन् ।

वरीयतामा पछाडि रहेका राजन लिम्बु, सन्तोष तामाङ र विनोद घिमिरेले पनि शक्तिकेन्द्रमार्फत प्रहरी नेतृत्वसामू दबाब दिइरहेको प्रहरी अधिकृतहरु बताउँछन् । लिम्बु र तामाङ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सुरक्षा अधिकृत (पीएसओ) का रुपमा काम गरेको अफिसर हुन् । घिमिरे हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ बसिसकेका अधिकृत हुन् । गृह मन्त्रालय र प्रहरी नेतृत्व भने सिनियरिटीका आधारमा बढुवा गर्ने मुडमा देखिन्छ ।

प्रहरी महानिरीक्षकले डीएसपीको वरीयता अनुसार नै एसपी बढुवा गर्न चाहेपछि पहुँचवाला डीएसपीहरुले शक्ति केन्द्र भिडाइरहेका छन्। हाल एसपीको प्रतिस्पर्धामा रहेका विनोद घिमिरे डीएसपीको वरीयतामा अन्तिममा छन्। ओलीका पूर्व पीएसओ लिम्बु ८ र तामाङ ९ नम्बरमा छन्।

प्रचण्ड र ओलीका पूर्व निजी सुरक्षा गार्डलाई एसपीमा बढुवा गर्न तिब्र दबाब !

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट