रवि-जीबी गाँसिएको भनिएको सहकारी ठगिको फाईल सीआईबीले झिकायो !

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १५:0४
रवि-जीबी गाँसिएको भनिएको सहकारी ठगिको फाईल सीआईबीले झिकायो !

ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले झिकाएको छ । उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर थप अनुसन्धान सुरु गरिएको सीआईबीका एक जना अधिकृतले जानकारी दिए ।

जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति लामिछानेले पनि बिना धितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

बुटवल स्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगन्जको सानो पाइलाबारे स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँमा झिकाएको छ । लामिछाने र राईले सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ ।

काठमाडौँ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी घोटालामा पनि जीबी र रवि जोडिएका छन् । लामिछानेका तर्फबाट सुप्रिम सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा ट्रान्सफर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको २५ करोड रुपैयाँ डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट