वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • मिसन संवाददाता
  • आइतवार, माघ २८, २०८० १0:५९
वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गर्‍यो।

भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक ३२ रन बनाइन्। ३७ बलको सामना गरेकी उनले २ चौका र १ छक्का प्रहार गरिन्। रुबिना क्षेत्रीले १७ रन बनाइन्। २४ बलको सामना गरेकी रुबिनाले १ छक्का र १ चौका प्रहार गरिन्।

नेपालकी ओपनिङ ब्याटर कविता कुँवर भने ५ रनमा आउट भएकी थिइन्। यस्तै, कप्तान इन्दु बर्मा मात्र १ रनमा आउट भइन्। नेपालविरुद्ध भुटानकी अञ्जु गुरुङ र अन्जुली घलेले समान १–१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो। भुटानका लागि न्गावांग चोडेनले सर्वाधिक २५ रन बनाइन्। ५० बलको सामना गरेकी उनले १ चौका हिर्काइन्।

भुटानकी कप्तान देचेन वाङ्मोले १७ रन बनाइन्। २१ बल सामना गरेकी उनले ३ चौका हिर्काइन्। छिरिङ जाङ्ग्मोले १७ रन बनाइन्। भुटानविरुद्ध नेपालकी कविता कुँवर, सीता राना मगर, इन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिएका थिए।

जारी प्रतियोगितामा नेपालले भुटानलाई हराउँदै लगातार दोस्रो जित हात पारेको थियो। नेपालले पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले हराएको थियो। टी २० फर्म्याटमा भइरहेको प्रतियोगिताबाट एसिया कप खेल्ने टिमको छनोट हुने छ। नेपालले तेस्रो खेल फागुन १ गते माल्दिभ्ससँग खेल्नेछ।

  • मिसन संवाददाता
  • आइतवार, माघ २८, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट