कांग्रेसले जितेको गाउँपालिकामा जनयुद्ध दिवसमा सार्वजनिक बिदा

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० २0:१८
कांग्रेसले जितेको गाउँपालिकामा जनयुद्ध दिवसमा सार्वजनिक बिदा

सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को बिदा खारेज गरेपनि केही पालिकाहरूले फागुन १ मा धमाधम सार्वजनिक बिदा दिने निर्णय गरेको सार्वजनिक गरिरहेका छन् । गत वर्ष संघीय सरकारले माओवादीले जनयुद्ध सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त सरकारमा एमाले समेत सामेल थियो ।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।

नेपाल सरकारको २०७९ माघ २९ को निर्णय र २०८० फागुन १ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९।१२।२ मा प्रकाशित सूचना एवम् सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरूसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको थियो । तर उक्त आदेशमा संघ र प्रदेश सरकारबारे मात्र बोलिएको भन्दै माओवादी नेतृत्वमा रहेका अधिकांश जिल्लाका पालिकाहरुले भने बिदा दिएका छन् ।

हाल गठबन्धनमा रहेको कांग्रेसबाट निर्वाचित एक गाउँपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । हुम्लाको चंखेली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मजित थापाले सार्वजनिक बिदा दिएको जानकारी दिएका छन् ।

चंखेलीका गाउँपालिका अध्यक्ष प्यारीलाल शाही नेपाली कांग्रेसका नेता हुन् । स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष उठेपनि उनी पछि कांग्रेस प्रवेश गरेका थिए ।

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० २0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट