काठमाडौंको सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको महानगर प्रहरीले दाबी गरेको छ । महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताए । घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेको उनको भनाइ छ ।
‘त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले गएको १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेका थियौँ । गएको १५ दिनअघिदेखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए’, प्रहरी बलका प्रमुख पाण्डे भने, ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा जानुभएको थियो । उहाँ पुग्ने वित्तिकै आक्रमण भयो ।’
घटनाका बारेमा जानकारी गराउँदै उनले भने, ‘भिडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो । यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो । कसैमाथि दमन गर्ने वा घरपकड गर्ने काम हामीबाट भएको छैन । त्यो हाम्रो काम पनि होइन ।’
नगर प्रहरीले लाठी चार्ज गर्दा केही फुटपाथ व्यवसायीसमेत घाइते भएका छन् ।