ठमेलमा फेरि मौलायो टोले गुण्डाको दादागिरी : प्लेब्वाइ क्लबमा एकजना कुटिए !

  • मिसन संवाददाता
  • मङ्लबार, माघ ९, २०८० १९:१२
ठमेलमा फेरि मौलायो टोले गुण्डाको दादागिरी : प्लेब्वाइ क्लबमा एकजना कुटिए !

काठमाडौंको ठमेलमा एक पुरूषमाथि कुटपिट भएको छ। सानुभाइ भनिने युवराज गुरूङको समूहले बागलुङ घर भएका एक पुरूषमाथि गत शनिबार कुटपिट गरेका हुन्।

सानुभाइको समूहले प्लेब्वाइ क्लबको पार्किङमा ती पुरूषमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिट भइरहेको सिसीटिभी फुटेज पनि सार्वजनिक भएको छ। प्रहरी वृत्त दरबारमार्गमा सानुभाइसहित ६ जनाविरूद्ध पीडितले जाहेरी दिएका छन्। प्रहरीले उनको नाम खुलाएको छैन। उनीहरूबीच के विषयमा विवाद भएर कुटपिट भएको भन्ने खुलेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले कुटपिटमा संलग्नको खोजी भइरहेको बताए। ‘गुण्डागर्दी गर्नेको खोजी भइरहेको छ, पहिले पनि कुटपिटकै घटनामा संलग्न भएका व्यक्ति हुन्,’ उनले भने, ‘हामी पक्राउ गरी कानुनअनुसार कारबाही गर्छौं।’

यसअघि सानुभाइसहित ८ जना गत असारमा कुटपिटकै घटनामा पक्राउ परेका थिए। उनीहरूले ठमेलको ओम्निया क्लबका सञ्चालक र बाउन्सरमाथि कुटपिट गरेका थिए। त्यसबेला उनीहरू धरौटी बुझाएर छुटेका थिए।

प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डा नाइके कुमार श्रेष्ठउर्फ ‘घैँटे’ का प्रमुख सहयोगी गुरुङसमूह बनाउँदै गुण्डागर्दीमा सक्रिय हुन थालेका हुन् । गुरुङसहितको समूहले शनिबार ठमेलको छाया सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा वितण्डा नै मच्चाएको भिडियो सामाजिक संजालमा भाईरल बनेको छ ।

युवराज गुरुङ विभिन्न आपराधिक घटनामा संलग्न हुँदै आएका आरोपी हुन् । उनी प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डा नाइके कुमार घैँटेका प्रमुख सहयोगी थिए ।

युवराजले यसअघि २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरेका थिए । सो अभियोगपछि फरार रहँदै हिँडेका सानुभाइलाई २०७२ मा प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामै पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले लोड गरिएको पेस्तोलसमेत बरामद गरेको थियो । सानुभाइकै समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जितबहादुर कार्कीमाथिसमेत आक्रमण गरेको थियो ।

पछिल्लो समय अधिकांश गुण्डा नाइकेहरू आपराधिक गतिविधि छोडेर राजनीतिमा लागेका छन् । तर, सानुभाइले भने आपराधिक गतिविधि विस्तार गर्दै आएको खुलेको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ ९, २०८० १९:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट