मालपोतका दुई खरिदारले कसरी सरकार हल्लाए ?

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:४७
मालपोतका दुई खरिदारले कसरी सरकार हल्लाए ?

२७ वर्षको सरकारी सेवामा, २४ वर्ष मालपोत छाडेर उनै बाहिर जानुपरेको छैन उपसचिव लोकबहादुर भण्डारीलाई । अहिले भक्तपुर मालपोतको उनै हाकिम भण्डारीका दायाँ–बायाँ हात मानिने दुई खरिदारलाई सामान्य प्रशासनले थुतेर लगेपछि सोही अड्डामा फकाउन न्वारानदेखिको बल लागेको । पाँच वर्षभन्दा लामो समयदेखि भक्तपुर मालपोतको रजिष्ट्रेसन, मुद्दा शाखामा बसेर तर मार्दै आएका ती खरिदारद्वय दीपक कोइराला र दुर्गामान राईलाई भक्तपुर फर्काउने भण्डारीको प्रयासले ९० प्रतिशत सफलता पाइसकेको छ ।

संघीय मामिला मन्त्रालयले एउटै कार्यालयमा ४ वर्षभन्दा लामो समयदेखि बस्दै आएको भन्दै उनीहरूलाई गृह मन्त्रालय मातहत खटाएको थियो । उक्त सरुवा उल्टिएको छ । गत ५ मंसिरमा गृहअन्तर्गत भएको सरुवा बदर गरी पुनः भूमि व्यवस्था मन्त्रालयमै फर्कन सफल उनीहरूलाई त्यहाँबाट भूमिव्यवस्था मन्त्रालय मातहतकै कार्यालयमा सरुवा गरियो । खटाइएको निम्सरो कार्यालयमा एक दिन पनि हाजिर नभई ती भूमि तथा अभिलेख विभागतिर गइसकेका छन् ।

मंसिर ५ गते हरिशरण न्यौपानेको हस्ताक्षरित पत्रमा यी दुबैलाई भूमि आयोग र समस्याग्रस्त सहकारी कार्यालय हेर्ने गरी खटाइएको थियो । तर, खटाइएको ठाउँमा १५ दिन बित्दा पनि हाजिर भएनन् । भूमि आयोगको शाखा अधिकृत (कप्र हेर्दै आएका) उमेशहरि अधिकारीका अनुसार, १५ दिनअगावै मन्त्रालयबाट आयोगमा खटाइएको पत्र आएको भए पनि राई मंगलबारसम्म त्यहाँ हाजिर हुन पुगेका छैनन् । यस्तै समस्याग्रस्त सहकारी संस्थाका केशवप्रसाद पौडेलले पनि कोइराला त्यहाँ नआएको बताए ।

यी दुबै भाइ मन्त्री रञ्जिता श्रेष्ठको सचिवालयबाट सेटिङ मिलाएर बबरमहलस्थित भूमि तथा अभिलेख व्यवस्थापन विभागमा सरुवा भइसकेका छन् । महानिर्देशक विदुर खनालले उनीहरू सरुवा भएर आइसकेको स्वीकार गरे । माथिसम्म उठाएर दिन सक्ने पहुँच र खुबी भएका यी खरिदारलाई पुनः भक्तपुर पठाउन लागिएको हो ? भन्ने जिज्ञासामा महानिर्देशक खनालले संघीय मामिला तथा सामान्य प्रशासनको परिपत्रका कारण तत्काल त्यसरी खटाउन नसकिने प्रतिक्रिया दिए ।

सामान्य प्रशासन मन्त्रालयले गत मंसिर १२ गते एक परिपत्र जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार वा सोसरहका कर्मचारीको सरुवा तथा पदस्थापन आगामी फागुन मसान्तसम्मलाई स्थगन गरेको छ । लामो समयदेखि सुगम स्थानमा रहेर काम गरिरहेका तर बढुवा प्रयोजनका लागि मात्र दुर्गम जाने क्रम बढेपछि यसरी रोकिएको परिपत्र गरेको केही दिनपछि भूमिव्यवस्था मन्त्रालयले खरिदारद्वय कोइराला र राईलाई विभागमा सरुवा गरेको थियो । यी दुई भाइलाई भक्तपुर मालपोतमै फर्काउन त्यहाँका हाकिम लोकबहादुर भण्डारीदेखि निजामती कर्मचारी युनियनका नेता उत्तम कटवाल र पत्रकार ऋषि धमलासम्म लागिपरेको जनआस्थाले लेखेको छ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट