सोलुखुम्बुमा आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० १२:५६
सोलुखुम्बुमा आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी

सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका– ९, लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो । आगजनीबाट ४० लाख बराबरको क्षति भएको थियो ।

यस्तै, गत असार ५ गते राति थुलुङ दूधकोशी गाउँपालिका– ४, जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो । पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट ४० लाखबराबरको क्षति भएको प्रहरी निरीक्षक मिश्रले बताए ।

त्यसैगरी, गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा ८० लाखबराबरको क्षति भएको थियो । यस्तै, गत मंसिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका– ५, जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश–३–०१–००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा १ करोडबराबरको क्षति भएको थियो ।

‘सबै घटनामा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाएको अनुसन्धानबाट खुलेको छ । आगजनीबाट चारवटै स्काभेटरमा पूर्ण रूपमा क्षति पुगेको छ’, प्रहरी निरीक्षक मिश्रले भने । आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका– ९, लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन् । पाँचै जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्