बालकृष्णलाई अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा लैजाने तयारी

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० १२:१७
बालकृष्णलाई अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा लैजाने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्व गृहमन्त्री बालकृष्ण खाणको हकमा उच्च अदालत पाटनले गरेको आदेशको फाइल काठमाडौं जिल्ला अदालत पठाइने भएको छ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको थुनछेक आदेश उल्ट्याउँदै उच्च अदालतले उनलाई ३० लाख धरौटीमा रिहा गर्ने आदेश सुनाएको थियो।

उच्च अदालतको आदेशानुसार ३० लाख धरौटी बुझाए खाण रिहा हुने भए पनि प्रहरीले भने उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा पेस गर्ने तयारी गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत देश पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं रकम उठाएर ठगी गर्दै भ्रष्टाचार गरेको र अवैध रुपमा सम्पत्ति आर्जन गरेको देखिएको भन्दै प्रहरीले उनलाई अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा पेस गर्ने तयारी गरेको हो।

अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले यसअघि नै खाणलाई उपस्थित गराउन भन्दै कारागार कार्यालयलाई पत्राचार गरेका थिए। नेपाल सरकारको गृहमन्त्रीका रुपमा कार्यरत रहेका बेला रकम (घुस) लिएको अभियोगमा अख्तियारले खाणविरुद्ध अनुसन्धान गरिरहेको छ। यस्तै, सम्पत्ति शुद्धीकरण विभागले पनि उनीविरुद्ध अनुसन्धान गरिरहेको छ।

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० १२:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्