भारतमा भारी बोकेर छोराछोरी पढाउन पनि धौ धौ !

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १२:0९
भारतमा भारी बोकेर छोराछोरी पढाउन पनि धौ धौ !

बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन्। उनले भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गरिरहेका छन्। पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आएका बोहरा भारी बोकेर पाउने रकमले घर खर्चको जोहो गर्न सहज भएको बताउँछन्।

‘नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ’, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दै आएका बोहराले भने। उनले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गरे।

पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन्। उनले जस्तै सुदूरपश्चिम र कर्णली प्रदेशका सयौं नेपाली भारतीय सहरमा मजदुरी गरेरै घर खर्च चलाउँदै आएका छन्। ‘यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्’, बोहराले भने। नेपालमै पसिना बगाउने आफ्नो रहर भए पनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो उनले गरे।

‘गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदुरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ’, बोहराले भने। भारतमा पनि मजदुरी गर्न सहज नभएको उनको भनाइ छ। ‘कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ’, उनले भने–’यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको सङ्ख्या अत्यधिक छ।’

बोहरासँगै रोजगारीका लागि आएका तीन जना मिलेर दुई हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आएका छन्। मजदुरी गर्न आउने जाने क्रम चलिरहन्छ। उनीहरुले घरको खेतीपाती पनि आफैंले गर्नुपर्ने बाध्यता छ। ‘यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौं’, बोहराले भने, ‘पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन।’

बैतडीको पुर्चौडी नगरपालिका–८ मल्लादेहीका परमानन्द जोशी पनि रोजगारीका लागि पिथौरागढ पुगेका छन्। उनी खेतीपातीको काम सकेर रोजगारी खोज्दै पिथौरागढ पुगेका हुन्। ‘मजदुरी गरेबापत दैनिक छ सय पाइन्छ’, जोशीले भने, ‘घरबाट आएको केही दिनमात्रै भयो।’ उनले ४० वर्षदेखि भारतमा मजदुरी गर्दै आएको बताए। स्वदेशमा परिवार पाल्नका लागि कुनै सीप नचलेपछि बाध्य भएर विदेशिनुपरेको उनले गुनासो गरे।

जोशीका तीन छोरा छन्। आर्थिक अभावकै कारण उनीहरुलाई पढाउन नसकेको उनी बताउँछन्। ‘एउटा छोरा रोजगारीका लागि भारतकै बैङ्लुरु गएको छ। दुई छोरा घरमै छन्’, जोशीले भने, ‘छोराले पनि नेपालमा रोजगारी पाउन सकेनन्।’

पिथौरागढको बजार पस्दा घरदेश छाडेर मजदुरी गरिरहेका सयौं नेपाली भेटिन्छन्। तीस वर्षअघि सुदूर पहाडका नेपाली पिथौरागढ पुगेर घिउ बेच्थे। घिउ बेचेर नुन र लत्ताकपडा किन्थे। पहिले वस्तु र बस्त्रको व्यापार हुन्थ्यो। अहिले पसिनाको व्यापार चलेको छ।

बैतडीको पुर्चौडीका उत्तमसिंह धामीको पनि उही बाध्यता छ। ‘यहाँ मजदुरी गरेर घरखर्चको जोहो गर्न थालेको ३५ वर्ष भयो’, धामीले भने, ‘छ महिना स्वदेशमा घरखेतको काम गरेर छ महिना यहाँ मजदुरी गर्न आउँछौं।’ बैतडीमा रहेको फलाम खानी उत्खनन गरे आफूहरुले घर नजिकै रोजगारी पाउन सक्ने उनको भनाइ छ।

‘हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन। मेरो जिल्ला बैतडीमा फलाम खानी छ। सरकारले उत्खनन त गर्नुपर्यो’, उनले भने, ‘सरकारीस्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुनेछन्।’

पिथौरागढको पुरानो नाम ‘सोर’ हो। कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए। अहिले पनि उपचार र किनमेलका लागि उनीहरु पिथौरागढ धाउँछन्। पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौं नेपाली भारी बोक्दै गरेका भेटिन्छन्।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट