हत्या र बलात्कार अभियोग लागेका ‘कथित तपस्वी’ भेट्न पुगिन पुर्वमन्त्री

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १२:४0
हत्या र बलात्कार अभियोग लागेका ‘कथित तपस्वी’ भेट्न पुगिन पुर्वमन्त्री

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)द्वारा पक्राउ परेका रामबहादुर बम्जनका समर्थकहरु सीआईबीको महाराजगन्जस्थित कार्यालयमा भेला भएका छन् । करिब ४०–५० जनाको संख्यामा समर्थकहरु सीआईबीको कार्यालयबाहिर भेला भएका हुन् ।

यद्यपि समर्थकहरुलाई प्रहरीले भित्र प्रवेश दिएको छैन । पूर्वराज्यमन्त्री समेत रहेकी यशोदा लामाले भने बम्जनसँग भेट गरेकी छन् । बुधबार बिहान सीआईबी पुगेर उनले बम्जनसँग भेट गरेकी हुन् ।

हत्यासहितको अभियोगमा अनुसन्धानमा तानिएका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको छ।

लगातार १८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले उनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो। बम्जन पक्राउ परेको पुष्टि सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले गरे।

बम्जन काठमाडौं आसपासमै रहेको सूचनापछि सीआईबीको टोली १८ दिनदेखि उनको पछि लागेको थियो। भाग्न सक्ने सम्भावना बलियो भएपछि प्रहरीले निरन्तर निगरानी गरेर मंगलबार साँझ पक्राउ गर्न सफल भएको हो।

सीआईबीले बम्जनलाई पक्राउ गर्न एकजना डीएसपीको कमान्डमा टोली परिचालन गरेको थियो। डीएसपी नेतृत्वको टोलीले निरन्तर पछ्याइरहेको सूचना बम्जनकहाँ पनि पुगेको थियो। प्रहरीले पछ्याइरहेको शंका पाएपछि बम्जन हात्तीगौँडास्थित घरबाट भाग्न तयारी अवस्थामा थिए।

बलात्कारसहित बम्जनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र अर्का एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ। रौतहटकी आनीले आश्रममा बस्दा बम्जनले आफूलाई जबर्जस्तीकरणी गरेको आरोप लगाएकी छन्।

पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बम्जन प्रहरीको फरार सूचीमा थिए। सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बम्जनलाई प्रहरीले फेला पार्न सकेको थिएन।

बम्जनले सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका थिए। करिब १८ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा ‘तपस्या’ गर्न थालेका थिए।

बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३ लाख नेपाली रूपैयाँ फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ।

‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो। तीन करोड तीस लाख ७५ हजार रहेछ। सबै हजार हजारको गड्डीहरू भेटिएको छ। अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ। डलर लगायत अरू पनि करेन्सी छन्,’ ब्युरो प्रमुख किरण ब्रजाचार्यले भनिन्।

उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ।

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट