नक्कली भुटानी काण्ड : बालकृष्णले दुईतिर पैसा बुझाए !

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० १६:२३
नक्कली भुटानी काण्ड : बालकृष्णले दुईतिर पैसा बुझाए !

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पूर्वगृहमन्त्री खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै छाड्नका लागि प्रक्रिया पुर्‍याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

खाणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाणलाई छाडिने छ ।

खाणले सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। शुक्रबार विभागले खाणसँग १५ लाख रुपैयाँ धरौटी मागेपछि उनले नबिल बैंकको ग्यारेण्टी बुझाएको महानिर्देशक पुष्‍पराज शाहीले जानकारी दिए। यसअघि उनले जिल्ला अदालत काठमाडौंमा ३० लाखको बैंक ग्यारेण्टी बुझाएर केन्द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका थिए।

खाण अब अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा हाजिर हुनेछन्। अख्तियारले छाडेपछि भने उनी तारेखमा हुनेछन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएसँगै छुटेका हुन्।

मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिँदा कोइरालाको इजलासले निर्णय गरेको हो। प्रकाश खरेलले खाणलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने राय दिएका थिए। तर जनक पाण्डेले उनलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए।

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट